जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार ११:२७

सीमामा विवाद गरिरहनु भन्दा काँडेतार लगाउन पूर्वप्रधानमन्त्री नेपालको प्रस्ताव


काठमाडौँ, बैशाख २९

पूर्वप्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सीमामा सधै विवाद गरिरहनु भन्दा काँडेतार लगाउन उचित हुने बताउनु भएको छ । उहाले भारतसँग पटक पटक सीमा विवाद गरिरहनु भन्दा काँडेतार लगाउनु नै उचित भएको बताउनु भएको हो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको भएको छलफलमा उहाले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि स्पष्ट पार्नुभयो । नेता नेपालले अब लिपुलेकका विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने बेला आएको बताउनु भयो । ‘दुवै देशसँग कुरा गरेर सीमाको विवाद सुल्झाउन सरकारले तत्काल प्रयास थाल्नुपर्छ । अनि आफ्नो सीमामा भवन निर्माण गर्ने र सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्नुपर्छ’, नेता नेपालको भनाई छ ।

उहाले नेपालमा भारतविरोधी भावना बढेकोमा भारतीय शासकहरुमा चिन्ता बढेको देखिने भन्दै नेपालको भूमिमाथि नै दावा गर्ने भारतका कामले यस्तो भएको पनि बताउनु भयो । ‘सानो छिमेकी राष्ट्रप्रति भारतको धारणा ठीक छैन कि भन्ने गम्भीर आशंका भएको छ । नेपाल र भारतबीचमा भएका सन्धिलाई भारतले उल्लंघन गरेको छ । नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ’, उहाले भन्नुभयो ।