काठमाडौं, बैशाख २९ । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै समय पर्खिन नसक्ने प्रष्ट पारेको छ । अन्तराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाउँदै त्यसलाई यथास्थितिमा राख्न भनेको छ । तर भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गरेको छ उस्ले सीमा समस्याबारे कोरोना भाइरसको महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको जवाफ दिएको हो ।
नेपालले सीमा जस्तो गम्भीर बिषयमा त्यसबेलासम्म पर्खिन नसक्ने प्रष् पारिसकेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनु भयो । ‘अस्ती भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेर । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ,’ परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो ।
समिति बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाउनु भएको थियो । यस बिषयमा सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको मन्त्री ज्ञवालीको भनाई थियो । ‘नोभेम्बर २ देखि निरन्तर ताकेता गरिरहेका छौं,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्