जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार ११:४०

घटनास्थल पुगेका गाउँपालिका अध्यक्षको यस्तो बयान : रगतको ‘खोलै बगे जस्तै थियो


पाँचथर ।

मैले यो घटना मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएँ । थाहा पाउने वित्तिकै नजिकैको प्रहरी चौकीमा खबर गरेँ । र, इन्सपेक्टरसहित हामी घटनास्थलमा पुग्यौं । तत्कालै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि खबर गरियो ।

हामी घटनास्थलमा पुग्दा ससुरा र ज्वाइँको घरमा घटना भएको देखियो। ससुरा र ज्वाइँको घर माथि र तल छ। सुरुमा हामीले ससुरा बमबहादुर फियाकको शव देखियो। बमबहादुर घरबाहिर सिखुवामा सुतेका रहेछन्। उनको अनुहारभरी धारिलो हतियार प्रहार गरेको देखियो। अनुहार नचिन्ने गरी हानिएको छ। छ्याकछ्याक पारेको देखियो। यताउता रगत लत्पतिएको देखियो।

बमबहादुरको घरमा ४ वटा शव थिए। जसमा एउटा बाहिर र ३ वटा भित्र। हेर्नै नसकिने अवस्था थियो। त्यसपछि ज्वाइँ धनराज शेर्माको घरमा जाँदा झनै विभत्स दृश्य देखियो। भित्र जान सकिएन। बाहिरैबाट हेर्दा २ बालबालिका खाटमा रगताम्य भएर लडिरहेको देखियो। ३ वटा शव खप्टिएको देखियो। जताततै रगतै रगत थियो। रगतको ‘खोलै बगे जस्तै थियो।

अहिले गाउँ शोकमग्न भएको छ। भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खजुमका अनुसार हत्याराले मुख नचिनुन् भनेर अनुहार छोपेर आएका थिए। अहिलेसम्म कसले, के कारणले हत्या गर्‍यो अनुमान गर्नै सकिएको छैन। जिल्ला सदरमुकामबाट पनि अनुसन्धानका लागि डिएसपीको नेतृत्वमा आउँदै छ भन्ने सुनेको छु।

हाम्रो गाउँपालिकाका सबैजसो जनप्रतिनिधि यहाँ भेला भएका छौं। यहाँको वातावरण निकै भावविह्वल छ। प्रहरीले घटनास्थल सिल गरेको छ। वरपर कसैलाई जान दिएको छैन। फोटो खिच्न दिइएको छैन। मृतकहरुको त्यस्तो कोहीकसैसँग नराम्रो भए जस्तो त मलाई लागेको थिएन। कसले, किन हत्या गर्‍यो प्रहरी अनुसन्धानबाट खुल्छ भन्ने विश्वासमा हामी छौं।

(अमरराज माखिम – अध्यक्ष, मिक्लाजुङ गाउँपालिका)