जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १९:३८

लकडाउन झनै कडा : सबै सवारी पास रद्द, सरकारी कर्मचारीदेखि पत्रकारसम्मलाई नयाँ ब्यवस्था


काठमाडौं, बैशाख ३० । कोरोना संक्रमितको संख्या अप्रत्यासित रुपमा बढेपछि सरकारले लकडाउन झनै कडा बनाउने भएको छ । देशको विभिन्न भागमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

आज मात्रै ५७ जना कोरोना संक्रमित पुष्टि भएपछि गृहले आवतजावतमा कडाइ गर्ने निर्णय लिएको हो । गृह मन्त्रालयले अव एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । गृह मन्त्रालयका अनुसार उक्त निर्णय जेठ १ गते बिहीबारदेखि लागू हुनेछ । अव उपत्यकामा कार्यरत सरकारी कर्मचारीहरुलाई पनि पास अनिवार्य गरेको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने ब्यवस्था थियो । अब भने नियामक निकायबाट जारी भएको पास चाहिने अनिवार्य ब्यवस्था गरिएको छ ।

त्यसैगरी सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । यसअघि सम्बन्धित सञ्चार संस्थाको पासको आधारमा आवत जावत गर्न दिइएको थियो ।