वीरगञ्ज, बैशाख ३०
पर्सामा अनियन्त्रित तवरले कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आवागमनमा रोक लगाउन सेना परिचालन गरिएको छ । स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
पर्सामा आजैबाट जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा समेत जारी गरिएको छ । पर्सामा मंगलबारमात्र ३९ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको बीरगञ्ज नगरपालिकामा २५ जना र छिप्रामाई गाउँपालिकामा रहेका १४ जना गरी ३९ जनामा कोरोना देखिएको हो ।
छिप्रामाईका १४ संक्रमित भने बागलुङबाट १७ दिन अगाडि वीरगञ्ज आएको खलुेको छ । उनिहरु मध्ये छिप्रामाईका ११, धोविनीका दुई जना र एक भारतीय नागरिकको पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुलाई नारायणी अस्पतालको आइसोलसनमा पठाउने तयारी भइरहेको छ ।
कोभिड–१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त सेनासमेत परिचालन गरिने बस्नेतले बताउनु भयो । पर्सामा हालसम्म ६४ जनामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै संक्रमण देखिएको जिल्ला पनि सोही नै हो ।
प्रतिक्रिया दिनुहोस्