जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार २१:४७

चितवनकी ६३ वर्षीया महिला पनि कोरोनामुक्त


नारायण अधिकारी \ चितवन, बैशाख ३०

कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त हुनु भएको छ । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैनन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो ।

यसअघिका पाँचपटकको नतिजामा नियमित पोजेटिभ देखिएकी ती महिलालाई छैटौं र सातौँ नतिजा नेगेटिभ आएसँगै भरतपुर अस्पतालले उहालाई बुधबार डिस्चार्ज गर्दैछ । तिवारीका अनुसार दिउँसो उहालाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाइरस मार्नका लागि औषधि छरिँदैछ ।

चैत ३ गते हङकङ हुँदै काठमाडौँ आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आउनु भएकी उहामा वैशाख ३ गते ¥यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि उहा र उहासँगै आएका दुई छोराको समेत पिसिआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो । उहासँगै पोजेटिभ देखिएका उहाका २७ वर्षीय छोरालाई भने अस्पतालले केही समयअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले लगातार दुईपटकसम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइने जानकारी दिनुभयो ।