जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार ०९:५०

कालापानी क्षेत्र हिड्यो सशस्त्रको टोली


काठमाडौं, वैशाख ३१ । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुलातर्फ प्रस्थान गरेको छ ।

बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुलातर्फ प्रस्थान गर्नुभएको हो । दार्चुलाको कालापानी भन्दा १३ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु दार्चुला सदरमुकाम खलंगामा तयारी अवस्थामा राखिएको छ ।

गत मंसिर महिनामा नेपाल सरकारले छाङरुमा बिओपी राख्ने निर्णय गरे पनि हिमपात र लकडाउनका कारण ढिलाइ भएको थियो । छाङरुमा भौतिक संरचना निर्माण गर्न समय लाग्ने भएकोले तत्काल गागास्थित स्थानीयको घर भाडामा लिएर बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ५० हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग सीमाना जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि सरकारले तत्काल कालापानी क्षेत्रमा सशस्त्र खटाउने निर्णय कार्यान्वयन गरेको हो ।

सशस्त्रसंगै उक्त हेलिकोप्टरमा सई हर्कसिंह महताको नेतृत्वमा ९ जना नेपाल प्रहरीको टोली पनि छाङरु जाने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर बिष्टले बताउनुभयो ।