जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार ११:४९

कोरोना संक्रमित भेटिएका भक्तपुरको दुवाकोट र शंखधर चोकआसपासका क्षेत्र सिल गरियो


भक्तपुर, बैशाख ३१ । भक्तपुरमा कोरोना संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आज बिहानैबाट सिल गरिएको हो ।

संक्रमण पुष्टि भएसँगै आज बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ । भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा बसेकी थिइन् । साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन् । साथीको कोठामा बसेकै बेलामा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन । उनी पर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी हुन । रावलको सुरक्षामा खटिएका भएपनि उनी एक महिनादेखि पत्नीको उपचारका लागि बिदामा बसेका थिए । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।

उनीहरु दुवैमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २५ वर्षीया महिला सुनसरीबाट मोटरसाइकलमा आएको खुलेको छ । वैशाख २९ गते मोटरसाइकलमा आएकी महिला ‘हेल्थ केयर स्टाफ’ भएको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । ती महिलालाई मंगलबार नै टेकु अस्पताल भर्ना गरिएको जनाएको छ ।

त्यस्तै, भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष चाागुनारायण दुवाकोटको रहेको खुलेको छ । तर, उनमा कसरी संक्रमण भयो भन्ने प्रस्ट भएको छैन । मंगलबार भक्तपुरका दुई र काठमाडौंमा एक जनासहित थप ८३ जना व्यक्तिमा संक्रमण देखिएको छ । जसमध्ये, १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एक जना सर्लाहीको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससागै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।