जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १२:४१

आफ्ना सुरक्षाकर्मी फिर्ता लैजान नेकपाका प्रवक्ता श्रेष्ठको आग्रह


काठमाडौं, बैशाख ३१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको छ । सीमामा सुरक्षाकर्मीको अभाव भईरहेका बेला प्रवक्ता श्रेष्ठले आफ्नो भन्दा देशको सुरक्षा पहिलो भएको बताउनु भएको हो ।

बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् उहाले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गर्नुभएको छ । उहाले आफूले खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

उहाको सुरक्षामा अहिले १२ जना प्रहरी खटिएका छन् । पूर्वगृह मन्त्रीलाई पदबाट छाडेको ६ महिनासम्म सुरक्षा उपलब्ध गराउने भएपनि पूर्वमन्त्रीले बर्षौदेखी सुरक्षाकर्मी प्रयोग गर्दै आईरहेका छन् ।

उहाले लेख्नु भएको छ, ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन । राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना ।’