जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १३:५४

सशस्त्र प्रहरीको टोली छाङ्‌रूमा, यसरी पुग्यो टोली


दार्चुला, बैशाख ३१

सशस्त्र प्रहरीको टोली बुधबार दिउसो छाङ्‌रू पुगेको छ । सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका–१ छाङ्‌रू पुग्नु भएको हो ।

सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति बिष्ट दार्चुला सदरमुकामबाट छाङ्‌रु प्रस्थान गर्नुभएको थियो । सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्ने छाङ्‌रु पुगेको जनाइएको छ । पौने एक बजे पहिलो पटक उडेको हेलिकोप्टरले दोस्रो पटक सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान लैजाने छ ।

६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर ६ महिनाका लागि सशस्त्र प्रहरी बल छाङ्‌रुस्थित स्थानीयको घरमा भाडामा बस्ने छ । सशस्त्र प्रहरी बलसँगै नेपाल प्रहरीका नौ जना समेत छाङ्‌रु गएका छन् ।

सितापुल चौकीका नौ जना हेलिकोप्टरबाट र तीन जना सोही चौकीका लागि व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ प्रहरी चौकीबाट हिँडिसकेको प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।