जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १४:४०

अनुगमन भन्दै नाका चाहार्दै जनप्रतिनिधि, निर्वाध रुपमा उपत्यका भित्रिदै कोरोना संक्रमित


काठमाडौं, बैशाख ३१ । काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठले खत्रीपौवामा पुगेर रातारात मान्छे काठमाडौं भित्रिए भनेर गरिएको हल्ला सत्य नभएको प्रतिक्रिया दिएको एक हप्ता पनि वित्न नपाउँदै त्यही नाकाबाट काठमाडौँ भित्रिएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले उपत्यका भित्र निर्वाध आवत–जावतलाई कडाई गरी उपत्यका भित्र भने लकडाउन केही खुकुलो बनाउनु पर्ने माग गरिरहेकै बेला काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठ भने बैशाख २४ मा काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवामा अनुगमन गर्ने भन्दै पुग्नुभएको थियो । त्यसैबेला उपमेयर खड्की भने चन्द्रागिरी नगरपालिकाको खत्रीपौवा पुगेर केही सञ्चारमाध्ययमलाई रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको थियो त्यो सत्य नभएको भन्दै प्रतिक्रिया नै दिनुभयो ।

‘त्यस्तो डरलाग्दो अवस्था देखिएन, उपत्यकामा आवश्यक पर्ने खाद्यबस्तु, तरकारी ढुवानी गर्ने ट्रकहरु, पेट्रोलियम बस्तु ढुवानी गर्ने साधनहरु, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स भित्रिँदै गरेका भेटिए,’ उपमेयर खड्कीले केही सञ्चारमाध्ययमलाई प्रतिक्रिया दिदैँ गौरवका साथ भन्नुभयो ।’ सवारी पासको समेत दुरुपयोग गर्दै रातारात उपत्यका भित्रिनेको संख्यामा वृद्धि भएको भन्दै नगरपालिका फोरमका पदाधिकारीले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी सामूहिक रुपमा उपत्यका भित्र निर्वाध आवत–जावतमा कडाई गर्न आग्रह समेत गरेका छन् । तर, उपप्रमुख खड्की भने कसैसँग सल्लाह नै नगरी पछिल्लो समय विभिन्न नाकामा पुग्ने र मनलाग्दी प्रतिक्रिया दिदैँ हिड्ने गर्न थाल्नु भएको छ ।

खत्रीपौवा पुगेको केही दिनपछि उहाँ फेरि दक्षिणकाली नगरपालिका स्थित फर्पिङ्ग नाकामा अनुगमनकै लागि भन्दै पुग्नुभयो । उक्त नगरपालिकाका मेयर मोहन बस्नेतसहितको अनुगमनमा पनि उहाँले लगभग खत्रीपौवाकै जस्तो प्रतिक्रिया दिनुभयो । उहाँले नाकामा अनुगमन राम्रो भएको भन्दै प्रसंसा समेत गर्नुभयो । उपमेयर खड्कीको कार्यक्षेत्र काठमाडौँ महानगरपालिका भित्र मात्रै हो । तर, उहाँले अनुगमनका नाममा आफ्नो अनुगमनको क्षेत्र भन्दा बाहिर गएर त्यस्तो प्रक्रिया दिएको केही दिन पनि वित्न नपाउँदै आर्थात हिजो मात्रै चन्द्रागिरी नगरपालिकामा एक जना कोरोना संक्रमित भेटिए । ३३ वर्षीया कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । जहाँ कि ती महिला कन्चनपुरको महेन्द्रनगरबाट बैशाख २९ गते त्यहि थानकोट नाका भएर काठमाडौं आएकी थिइन् ।

‘अहिले कोरोनोको संक्रमण एकपछि अर्को गर्दै फैलिरहेको छ । उपत्यकामा पनि यसरी संक्रमितहरु भेटिन थालेका छन्,’ काठमाडौँ महानगरपालिकाकै एक जनप्रतिनिधिले भने, ‘उपत्यकाका सबै जनप्रतिनिधि एकजुट भएर कोरोनाविरुद्धको लडाईँमा लड्नु पर्ने बेला हो । तर, काठमाडौँ महानगरपालिककै उपमेयर जस्तो व्यक्तिले विभिन्न ठाउँमा पुगेर चर्चाका लागि दिएका यस्ता अभिव्यक्तिले समस्या समाधान होइन । थप जटिल बन्छ ।’

ती जनप्रतिनिधिले अहिलेको अवस्थामा राजनीतिक आस्थाका आधारमा गरिने प्रचारले झन समस्या थप्ने भन्दै चिन्ता समेत व्यक्त गरे । ‘नगरपालिका फोरमले काठमाडौंबाट धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन थप समस्या थपिन्छ भन्दै सामूहिक स्वरमा भनिरहेको छ,’ ती जनप्रतिनिधिले भने, ‘तर, कसैसँग समन्वय नै नगरी उपमेयरज्यु भने नाका–नाकामा कुदेर मिडियाबाजी गरिरहनु भएको छ । यो सकारात्मक सन्देश होइन ।’