जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १६:१५

चन्द्रागिरीमा कोरोना पोजेटिभ देखिएकी सशस्त्र प्रहरीकी जवानको यस्तो छ ‘ट्राभल हिष्ट्री’


काठमाडौं, बैशाख ३१

लकडाउनकै बेला कञ्चनपुरबाट काठमाडौं आइपुगेकी सशस्त्र प्रहरीकी एक जवानलाई कोरोना पोजेटिभ देखिएको छ । टेकु अस्पतालमा गरिएको पीसीआर परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी कञ्चनपुरमा आफ्नो देवरको ब्रतबन्धका लागि काठमाडौंबाट त्यहाँ पुगेको र दुई दिन अघिमात्र सशस्त्र प्रहरीकै गाडीमा काठमाडौं आईपुगेको ‘ट्राभल हिस्ट्री’ देखिएको छ । कञ्चनपुर वेदकोट नगरपालिका १० निवासी ३३ महिलाको ‘ट्राभल हिस्ट्री’ पत्ता लागेको छ । चैत ६ गते कान्छो देवरको ब्रतबन्ध गर्न देवर, १४ वर्षीया छोरी र ९ वर्षका छोरासहित वेदकोटस्थित घर पुगेका थिए । पहाड डडेलधुरा भागेश्वर गाउँपालिकामा पर्ने लामकाँडा ब्रतबन्धका लागि जाने तयारी रहेकै बेला लकडाउन भएपछि वेदकोटमै बसेका हुन् ।

लामो समयपछि सशस्त्र प्रहरीको भ्यानले मेडिकल टिम धनगढी ल्याउँदै गरेको थाहा पाएपछि त्यसैमा काठमाडौं फर्कने चाँजोपाँजो मिलाएकी थिइन् । वैशाख २८ गते टेम्पोमा दुई बच्चालाई लिएर बेलुकी कैलालीको अत्तरिया आइपुगेकी थिइन् । महिलासहित छोराछोरी गरी ३ र फर्केको भ्यानमा ५ जना राति कोहलपुरमा बास बसेका थिए । वैशाख २९ गते बिहानै काठमाडौं फर्किएको उल्लेख छ । बाहिर जिल्लाबाट आउनेहरु रुटिन जाँच अन्तरगत काठमाडौंमा सशस्त्र प्रहरीको क्याम्पमा सबैको जाँच गरिएको भएपनि उनीसँगै गाडीमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको थियो । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भने उनको रिपोर्ट पोजिटिभ पाइएको हो ।

वेदकोट १० हरपाल गाउँमा उनको परिवारमा हाल पाँच सदस्य रहेको र सबैको स्वाब संकलन गरिएको छ । यस अघि बेदकोट १० चतहरीकै पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् ।