जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार ०१:१०

लकडाउन बढने : अत्यावश्यकबाहेक उपत्यकाका सवै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय


उच्चस्तरीय समिति र सीसीएमसीमा अनुमोदनका लागि पठाइयो

काठमाडौं, जेठ २ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै तीन ओटै जिल्लाको संयुक्त बैठकले अत्यावश्‍यक सेवा प्रदान गर्नेबाहेक सबै सरकारी कार्यालय बन्दको निर्णय गरेका हुन् ।

तीनवटै प्रशासनले निर्णय अनुमोदनका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा पठाएका छन । उपत्यकास्थित जिल्ला प्रशासनको यो निर्णय जेठ ५ गतेदेखि लागू हुने सम्भावना रहेको छ । प्रशासनको यो निर्णयसँगै लकडाउनमा कडाई र बढने निश्चित देखिएको छ ।

बैठकले वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय, निर्माणसामाग्री ढुवानीलगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्द गर्ने निर्णय गरेको छ। प्रशासनको यो निर्णय सीसीएमसी र उच्चस्तरीय समितिबाट अनुमोदन भए सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुने छन । अन्य कार्यालय बन्द रहने र लकडाउन पनि बढने छ ।