जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार २२:०७

दाङमा पहिलो पटक कोरोना देखिदा उदयपुरका पत्रकार पनि संक्रमित


काठमाडौं, जेठ २

कोरोना संक्रमितको सख्या दैनिक जसो बढ्न थालेको छ । विगत एक सातादेखी दैनिक रुपमा नेपालमा कोरोनाका संक्रमितहरु फेला पर्न थालेसँगै जिल्लाहरु पनि थपिदै जान थालेका छन् । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको दाङ जिल्लामा आज पहिलोपटक संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ सार्वजनिक गरेको आँकडा अनुसार भेटिएका ९ संक्रमित मध्ये दाङमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरू दाङको गढवा गाउँपालिका वडा नम्बर ३ र ४ तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी २३, ३६ र ३४ वर्षीय युवक छन् । आजै भेटिएका नयाँ संक्रमितमा पर्सामा चारजना, उदयपुरमा एकजना र काठमाडौंमा एकजनामा कोभिड–१९ पुष्टि भएको छ ।

काठमाडौंको सतुंगल निवासी एक सात वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच, संक्रमितमध्ये एकजना उदयपुरका पत्रकार रहेको खुलेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले संक्रमित २५ वर्षीय युवक पत्रकार रहेको पुष्टि गर्नुभयो । स्थायी घर ताप्लि गाउँपालिका रहेका उनी सदरमुकाम गाईघाटमा बस्दै आएका छन् । पछिल्लो अद्यावधिक विवरण अनुसार ९ जनामा संम्रमण भेटिएसँगै नेपालमा कूल संक्रमित २६७ जना पुगेका छन् ।