जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार ११:३०

कन्टेनरमा लुकेर सिन्धुपाल्चोकबाट धुलिखेल आएका ५० भारतीय नागरिक नियन्त्रणमा


काभ्रे, जेठ ४

प्रहरीले कन्टेनरमा लुकेर आएका ५० भारतीय कामदारलाई धुलिखेलबाट नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको जल्केनीस्थित विद्युत प्रशारण लाइनमा कार्यरत भारतीय मजदुर आज बिहान कन्टेनर भ्यानमा धुलिखेल आएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहान ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनरमा लुकेर आएको सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् ।

धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो । ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताउनुभयो ।

त्यस्तै कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मङ्गलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको हो ।