जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार १३:२६

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने ‘सञ्चारकर्मी’ पक्राउ


काठमाडौं, जेठ ४

बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवीले चिकित्सक कार्कीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चन्द्रागिरि निवासी उत्तम कार्की रहेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । दुर्व्यवहार गर्ने कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको छ । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी लिदै फेसबुकबाट लाइभ समेत गरेका थिए । गृह मन्त्रालयले प्रहरीबाहेक कसैलाई पनि खानतलासी गर्ने अधिकार नभएको स्पष्ट पारिसकेको छ ।

यसैबीच, ति कार्कीले आफुबाट गल्ती भएको स्विकार गरेका छन् । आज विहान फेसबुकबाट उनले आफुबाट गल्ती भएको स्विकार गर्दै परिस्थितिनै त्यस्तो भएका कारण क्षमा समेत मागेका छन् । ‘मिति २०७७–०२–०२ गते काठमाडौ छिर्ने नाकामा स्वस्थ्यकर्मीको झोला हेर्न खोज्नु मेरो गल्ती हो म स्वीकार गर्छु। तेसैले तेस घटना प्रति म क्षमाप्राथी छु’, उनले भनेका छन् ।