जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार १७:१६

सांसद अपहरणको नाटक : यसरी खोल्यो प्रहरीले पोल


काठमाडौं, जेठ ४

सांसद सुरेन्द्र यादव अपहरण प्रकरण नाटक मात्र भएको खुलेको छ । राजनीतिक स्टन्ड बनाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतले सो प्रकरण निकालेको प्रहरी अनुसन्धानको प्रमाणले देखाएको छ ।

सरकारी वकिलको कार्यालय अनुसन्धान गर्न जिम्मा दिएपछि प्रहरीले एक साता लगाएर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट प्रहरी परिसर काठमाडौंले सांसद यादव अपहरणमा नपरेको निचोड सहित शुक्रबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको हो । सांसद यादवले आफूलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले अपहरण गरेको आरोप लगाउँदै उजुरी दिएका थिए ।

प्रहरीको अनुसन्धान टोलीले सांसद यादवको घरमा पुगेर घटनास्थलको विवरण लिनुका साथै परिवारसँग सोधपुछ गरेर मुचुल्का तयार गरेको थियो । यस्तै अरु विभिन्न ठाउँका मुचुल्का र सीसीटीभीका फुटेज पनि प्रहरीले बुझाएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सर्लाहीको गौतम होटल, काभ्रेको मिलन ज्योति गार्डेन रिसोर्ट र काठमाडौंको म्यारियट होटलको सीसीटीभी फुटेज पनि बुझाइएको छ ।

यीबाहेक पनि अपहरण होइन भन्ने प्रमाण फेला परेको प्रहरीको दाबी छ । प्रहरीले परिवारको बयान, सांसद यादवले विभिन्न संचारमाध्यममा दिएको बयान, काठमाडौं आउँदा बाटोमा विभिन्न नेतासँग गरेको टेलिफोन लगायतका प्रमाण पनि बुझाएको छ । यसका साथै केही लिखित प्रमाण नै फेला पारेको र जसले अपहरण होइन भन्ने पुष्टि गर्ने प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरु पुगेका तीन वटै होटलका कर्मचारीलाई समेत त्यहाँ रहँदाको अवस्थाबारे सोधपुछ गरेको थियो । त्यहाँ पनि अपहरण भएको भन्ने कसैबाट नआएको परिसरले जनायो । सरकारी वकिल कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरिरहेको बताउनु भयो । उहाले अनुसन्धान अपुरो देखिएमा फेरी अध्ययन गरेर प्रतिवेदन बुझाउन भन्न सकिने बाटो पनि खुल्ला नै रहेका बताउनु भयो । ‘हामी अध्ययन गरिरहेका छौं। पुनः अनुसन्धान गर्ने, तामेलीमा राख्ने वा मुद्दा अगाडि बढाउने भन्ने अध्ययनपछि मात्रै निर्णय हुन्छ,’ उहाले भन्नुभयो ।