जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १४:२४

पाँचथर नरसंहारको यथार्थ खुल्दै : पत्नीले छाडन लाग्दा ससुरालीको सामुहिक हत्यापछि ‘आत्महत्या’


पाँचथर जेठ ७

पारिवारिक बिवादको कारणले पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सामूहिक हत्या भएको हुनसक्ने देखिएको छ । प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धानमा सो शंका गरेको हो । अनुसन्धानको क्रममा हत्यामा संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएपछि प्रहरी यस्तो प्रारम्भिक निश्कर्ष निकालेको हो ।

अनुसन्धान टोलीका एक सदस्यका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन । मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन, सोही कारण उनले ससुराली परिवारकै बिनाश गरी आफूले अत्महत्या गरेको हुनुसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनामा घाइते भई बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको जानकारी दिनुभयो । ‘उनी –मोखिम) संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन,’ डिएसपी कुँवरले भन्नुभयो ।

घरमा सुतिरहेको समयमा गएराति अन्धाधुन्ध हतियार प्रहार गरी दुई घरका ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली घटनास्थल गएको छ भने प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको छ ।

प्रहरीले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।