जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार ११:११

प्रेमीसँग मिलेर श्रीमतीले नै गरिन औषधी व्यवसायी दुलालको हत्या : प्रहरीले फेला पार्यो यस्तो तथ्य


विराटनगर , जेठ ५ । विराटनगरका औषधि व्यवसायीको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो । विराटनगरमा औषधि व्यवसाय गर्दै आएका दुलालको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको हत्या नै भएको पुष्टि गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरिसकिएको जानकारी दिनुभयो । अधिकारीका अनुसार श्रीमतीकै योजनामा घटना भएको देखिन्छ । सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए। ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्यु अस्वभाविक रहेको जनाएपछि घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको थियो ।

दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो। शनिबार राति औषधि व्यवसायीहरु धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृकत दुलालसहित दुलालकै डेरामा बसेर मदिरा सेवन गरेको खुलेको छ। काफ्ले र श्रेष्ठ राति ९ बजे दुलालको डेराबाट बाहिरिएका थिए। त्यसका आधारमा प्रहरीले काफ्ले र श्रेष्ठ तथा दुलालकी श्रीमती मीनासँग सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ । घटनामा काफ्ले र श्रेष्ठको भने संलग्नता पाइएन ।

दुई जना त्यहाँबाट निस्किएपछि प्रेमीसँग मिलेर श्रीमतीले राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेकी थिइन । श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सुतेका बेला घटना भएको उनको दाबी थियो । सुतेको ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै मीनाले नै केही व्यक्तिको सहयोगमा श्रीमानलाई उपचारका लागि भनेर अस्पताल पुर्याएकी थिइन् ।

प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । ब्रह्मदेव चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे। त्यही क्रममा मीनासँग उनको हिमचिम बढेको चाल पाएर श्रीमान देवीप्रसाद दुलालले ब्रह्मदेवलाई पाँच महिनाअघि कामबाट निकालिदिएका थिए । प्रहरीका अनुसार उनलाई कामबाट निकालेको विषयमा मीनाले श्रीमानसँग विवाद समेत गरेकी थिइन् ।

‘कामबाट निकालिदिएपछि पनि मीना र ब्रह्मदेवबीच फोन र सामाजिक सञ्जालमा निरन्तर सम्पर्क भइरहेको थियो, त्यो कुरा पनि श्रीमानले थाहा पाएर त्यसो नगर्न श्रीमतीलाई सम्झाई–बुझाई गरिरहेको समयमा हत्या गर्ने योजना बनेको पाइयो,’ प्रहरीको भनाई छ । प्रहरीका अनुसार प्रेममा बाधक बनेको भन्दै मीनाले शुक्रबार प्रेमीसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेका थिए । प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीमा फेला पारेको छ । हत्यामा संलग्न ब्रह्मदेवलाई प्रहरीले आइतबार साँझ विराटनगरको बरगाछीबाट पक्राउ गरेको थियो । दुलालले आफ्नो औषधि डिलरबाट निकालिदिएपछि उनी बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालेको पाइएको छ । हत्यामा संलग्न दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।