जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार २२:०७

नेपालको क्षेत्रफल अब कति हो त ?


काठमाडौं, जेठ ५

सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नेपालको क्षेत्रफल कति हो भने अन्यौलता देखिन थालेको छ । नेपालको हालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर रहेको छ । अब यो क्षेत्रफलमा लिम्पियाधुरा समेटिएपछि कति वर्गकिलोमिटर बढ्छ त ? सबैको मनमा उठेको प्रश्न हो यो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार अहिले चलनमा रहेको क्षेत्रफलमा लिम्पियाधुरा समावेश नभएकाले अब भने बढ्ने बताउनु भयो । उहाका अनुसार लिम्पियाधुराको क्षेत्रफल ३१० वर्ग किलोमिटर रहेको छ । सो भाग जोड्दा नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ बर्गकिलोमिटर हुने बताउनु भयो ।

उहाका अनुसार नेपालको क्षेत्रफलको तथ्यांक नै दशकौंदेखि गलत उल्लेख गरिएको बताउदै अहिलेको क्षेत्रफल भित्र लिम्पियाधुरा क्षेत्र समावेश नभएको जानकारी दिनुभयो । ‘१ लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफल भनेर हामीले भनिरहँदा यो क्षेत्रफलभित्र लिम्पियाधुरा पर्दैन’, उहाले भन्नुभयो, ‘यसमा लिपुलेक र कालापानी समावेश भए पनि लिम्पियाधुरा समावेश छैन ।’

सीमाविद् श्रेष्ठका अनुसार नेपालको वास्तविक क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ वर्गकिलोमिटर हो । २०३२ सालदेखी नेपाल आफैले नक्सा बनाउन शुरु गरेपनि बनाउने जिम्मा दिएको संस्थाले अन्यौलताका कारण लिम्पियाधुरालाई छुटाएर नक्सा बनाएकाले सो क्षेत्रफल छुटेको बताउनु भयो । यद्यपी क्षेत्रफलका विषयमा भने सरकारले अहिलेसम्म आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन ।