काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाले बाहिरबाट आउने मानिसलाई कोरोना भाइरस (कोभिड–१९) नभएको पुष्टि भएपछि मात्रै काठमाडौं छिर्न दिन गृह मन्त्रालयलाई पत्र पठाएको छ । महानगरपालिकाको नगर कार्यपालिका बैठकले यस्तो निर्णयसहितको पत्र पठाएको हो ।
महनगरपालिकले अत्यावश्यक काम परेर काठमाडौं आउनु परेमा कोरोना परीक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको महानगरकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लकडाउनको बेलामा बिनाअनुमति उपत्यका प्रवेश गर्ने र सहयोग गर्नेलाई समेत कार्वाही गर्न गृह मन्त्रालयसँग अनुरोध गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जनताटाइम्सलाई बताउनु भयो ।
‘लकडाउनको उलंघन गरी अनुमति नलिइ लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाईसमेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई आग्रह गरेका छौं,’ प्रवक्ता डंगोलले भन्नुभयो । त्यस्तै महानगरपालिकाले अत्यावश्यक कामको लागि काठमाडौं प्रवेश गर्न संघीय मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरुबाट जारी अनुमतिपत्र (पास) बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण राख्न पनि अनुरोध गरेको छ । पास जारी गर्दा नै निजहरु काठमाडौंमा आइ बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं. र घरधनीको नामसहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिकाले सम्बन्धित कार्यालयलाई उपलब्ध गराउनु पर्ने महानगरको निर्णय गरेको हो ।
यस्तै काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु शील गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णयसमेत महानगरले गरेको हो ।
कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरसको परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि कामनपाले नेपाल सरकारलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्