जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १२:३८

नेपालको नयाँ नक्सा प्रमाणिकरण, सवा दुई बजे सार्वजनिक गर्ने


काठमाडौँ, जेठ ७

मन्त्रिपरिषद्बाट पारित भएको नेपालको नयाँ नक्सा प्रमाणिकरण भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको सो नक्सा मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणिकरण गर्नुभएको हो ।

विगतका नक्सामा छुटेका कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेपछि आजै सार्वजनिक गर्ने तयारी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको सचिवालयका अनुसार आज सवा दुई बजे नक्सा सार्वजनिक गरिने कार्यक्रम तय भएको जानकारी दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मी मंगलबार लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटेर नक्सा प्रमाणीकरण गर्नुभएको छ ।

सचिव न्यौपानेले मंगलबार नयाँ नक्सा प्रमाणीकरणका लागि मन्त्रालयबाट टिप्पणी उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पेस गर्नुभएको छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको छ । मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताउनु भएको छ ।