जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १५:२९

एनआरएनए अमेरिकामा सुनिल साहले बाजी मार्दा ‘फर्जी मत र नो भोट’ बन्यो निर्णायक (मतसहित)


न्यूयोर्क, जेठ ७

गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा सुनिल साह भारी मत अन्तरले विजयी हुनुभएको छ । निर्वतमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष साह ३ हजार ७११ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

साहसँग प्रतिस्पर्धा गर्नुभएको सूर्य लम्सालले १ हजार ७९७ र सञ्जय थापाले १ हजार ५५४ मत प्राप्त गर्नुभएको छ । यसैगरी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा तीन प्रतिस्पर्धीलाई पाखा लगाउँदै साहकै प्यानलका डा.अर्जुन बन्जाडे विजयी हुनुभएको छ । वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा अमृत सापकोटा, नारायण कँडेल र इन्दिरा त्रिपाठी हुनुहुन्थ्यो । अध्यक्षको उम्मेदवारी घोषणा गरेपनि नेपाली कांग्रेसको निर्देशनमा बञ्जाडे अन्तिम समयमा साह समूहमा मिलेर चुनाव लडनुभएको थियो । उहाँ २ हजार ९४९ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

महासचिवमा पनि साहकै प्यानलका पशुपति पाण्डे विजयी हुनुभएको छ । महासचिवको प्रतिस्पर्धीमा गोपन्द्र भट्टराई र अन्जनकुमार चौलागाई हुनुहुन्थ्यो । यसैगरी क्षेत्रीय उपाध्यक्षहरुमा मिडवेष्टबाट बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । उहाँले बाला घिमिरेलाई थोरै मत अन्तरले पराजीत गर्नुभएको हो । सुवेदीले ३ हजार ५ सय २ मत प्राप्ती गरी बिजयी हुँदा घिमिरेले ३ हजार २ सय २० मत प्राप्त गर्नुभएको थियो । नर्थइष्ट उपाध्यक्षमा बाबुराम लामा बिजयी हुनुभएको छ ।

लामाले ३ हजार ५ सय १९ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी महेशकुमार मल्लले ३ हजार ९७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै साउथ उपाध्यक्षमा कृष्णजिवि पन्त ४ हजार ६ सय ३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी थलराज पन्तले २ हजार ३० मत प्राप्त गर्नुभएको छ । वेष्ट उपाध्यक्षमा सर्वज्ञ वाग्ले ३ हजार ७ सय ८७ मतसहित वियजी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रामबाबु पाण्डेले २ हजार ८ सय २७ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा अमृतबाबु कट्टेल ३ हजार ३ सय ३५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी भानुभक्त खरेलले ३ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल २ हजार ६ सय ७१ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी रविनराज बज्राचार्यले २ हजार ३ सय ३८ र अर्का प्रत्यासी प्रशन्न संग्रौलाले १ हजार ७ सय १० मत प्राप्त गर्नुभएको छ । सह–कोषाध्यक्षमा शन्तोषकुमार बिष्ट ३ हजार ८ सय ६५ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी ज्ञानल थापाले २ हजार ६ सय १ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला संयोजकमा पत्रकार तथा लेखक दिक्षा बस्नेत ३ हजार ९ सय ४५ मतसहित बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी सुनिता खत्रीले २ हजार ७ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै युवा संयोजकमा बिनोद रुवाली ३ हजार ५ सय ५० मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी प्रितम कुसियतले ३ हजार २५ मत प्राप्त गर्नुभएको छ । यस्तै १२ जना बोर्ड सदस्यका लागि भएको निर्वाचनमा छत्रकुमारी गुरुङ, खिमबिक्रम भट्टराई, दुर्गाप्रसाद श्रेष्ठ, सत्यनारायण चौधरी, चित्रा कार्की, धर्मा विश्वकर्मा, अम्मरबहादुर छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदमबहादुर ठकुराठी, बासुदेव अधिकारी, तिलक केसी विजयी हुनुभएको छ । बिजयी बोर्ड सदस्यमध्ये चार जना सञ्जय थापा समुहका उम्मेदवार हुनुहुन्छ ।

यसैगरी अन्तराष्ट्रिय समन्वय समिति सदस्यमा जेदुनाथ पोखरेल, तृष्णा शर्मा, शंकर खड्का, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती विजयी हुनुभएको छ । निर्वाचनको परिणाम हेर्दा अध्यक्ष र बरिष्ठ उपाध्यक्षबाहेकका अधिकांश पदमा नो भोटले बिजयी उम्मेदवारलाई सहज बनाएको देखिएको छ । नो भोटकै कारण जित्नै पर्ने उम्मेद्वारसमेत पराजीत हुनुभएको छ । मिडवेष्ट उपाध्यक्ष बाला घिमिरे र कोषाध्यक्षका उम्मेद्वार रविन बज्राचार्य नो भोटको नराम्रोसँग सिकार हुनुभएको छ । अन्य लगभग सवैजसो पराजीत उम्मेद्वार पनि नो भोटको सिकार हुनुभएको छ ।

नो भोटकै कारण जित्नै पर्ने उम्मेद्वारसमेत पराजीत हुनुभएको छ । मिडवेष्ट उपाध्यक्ष बाला घिमिरे र कोषाध्यक्षका उम्मेद्वार रविन बज्राचार्य नो भोटको नराम्रोसँग सिकार हुनुभएको छ

‘अधिकांश परिणाम नो भोटको कारणले फरक परेको देखिएको छ,’ सञ्जय थापा जिताऔं अभियानका संयोजक तथा प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले जनताटाइम्ससँग भन्नुभयो । ओएनएफका महासचिव राधाकृष्ण देउजा पनि नो भोटले परिणाम धेरै तलमाथि भएको बताउनु हुन्छ । ‘अधिकांश उम्मेद्वारको हारजीतमा नो भोट निर्णायक देखियो, त्यसैले जित्ने उम्मेद्वार पनि हारे, हार्ने पनि जिते,’ देउजाले भन्नुभयो ।

निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन आयुक्त विश्व बरालको संयोजकत्वमा समिति बनाइएको थियो । समितिमा कुलमणी आचार्य, खड्ग उप्रेती, बाशु फुलारा, हेमराज भटट् निर्वाचन आयुक्त हुनुहुन्थ्यो । निर्वाचन अगावै २०९३ फर्जी मत बनाएको तथ्य बाहिर आए पनि निर्वाचन समितिले चुनाव गराएको थियो । अध्यक्षका प्रत्यासीद्वय सञ्जय थापा र सूर्य लम्सालको टीमले सो फर्जी मतलाई बैधानिकता दिएर चुनाव अगावै निर्वाचन समितिले एउटा उम्मेद्वारको समुहलाई जिताउने षडयन्त्रमा साथ दिएको बताएका थिए ।

हेर्नाेस मतपरिणाम

nrna usa-election-2019-final-results