जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १४:२६

सिडिओमाथि खनिए सांसद बिडारी


काठमाडौं, जेठ ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले कोरोना भाइरसको संक्रमण फैलिनुमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि दोषी रहेको बताउनु भएको छ । राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद विडारीले सिडिओले सवारी साधानको पास वितरणमा कडाइ नगर्दा कोरोनाको संक्रमण लकडाउनको अवधिमा पनि फैलिएको बताउनु भएको हो ।

‘यो कोरोना फैलिनुमा सिडिओ पनि दोषी छन, तास खेल्दाको साथी, रक्सी खाँदाको साथी जम्मैलाई पास बाँडिदिएको छ । अनि त दुई चार हजार रुपैयाँ भएका टोलका गुन्डाहरु गाडीका पास लिएर हिँड्ने । जनतालाई आक्रान्त पार्ने,’ सांसद विडारीले भन्नुभयो । सांसद विडारीले गाउँगाउँमा किसानले उत्पादन गरेको वस्तुहरु सरकारले नै शहरसम्म ल्याएर बिक्री गर्नुपर्ने सुझाव पनि दिनुभयो । उहाँले गाउँमा किसानलाई आवश्यक वस्तु सरकारले पुर्याउनुपर्ने माग गर्नुभयो । यसो गर्दा आवातजावत कम हुने र कोरोना संक्रमणको जोखि पनि कम हुने उहाँको भनाइ छ ।

‘सरकारले कम्तीमा एक हजार मालवाहक सवारी साधन आफ्नो नियन्त्रण, रेखदेखमा आफ्नो सुरक्षा सहित गाउँगाउँमा पठाउनु पर्यो । गाउँले जनताले उत्पादन गरको सम्पूर्ण चिजहरु शहरमा ल्याइदिनुपर्यो । शहरबाट गाउँमा मल, बिउ, कीटनाशक औषधि, जो जे चाहिने हो त्यहाँ पुर्याइ दिनुपर्यो,’ सांसद विडारीले भन्नुभयो, ‘जनता आवतजावत गर्न रोकिदिनुपर्यो । यसले भारतीय सामान नेपाल आउन रोकिन्छ । भारतीय तरकारी, फलफूल आउन रोकिन्छ । हामी आत्मनिर्भर हुन्छौं । आयात घट्न सक्छ ।’