जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार २१:४०

कालीमाटी तरकारी बजारबाट प्रहरीमा कोरोना सरेको आशंका, उपत्यकामा हालसम्म १९ जना संक्रमित


काठमाडौं, जेठ ७

कोरोना संक्रमणबाट उपत्यकामा हालसम्म १९ जना संक्रमित भेटिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी उनिहरुमा कोरोना संक्रमण देखापरेको हो । पछिल्लो पटक महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि कालिमाटीक्षेत्र सिल गरिएको छ ।

त्यस्तै, मैतिदेवी बस्दैआएका जुम्ल्याहा दाजुभाइमध्ये एकजनामा कोरोना सङ्क्रमण देखिएपछि सो क्षेत्र पनि सिल गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, कालिमाटी वृत्त परिसरमा रहेका महानगरीय ट्राफिक प्रहरी र महिला सेलको कार्यालय पनि सिल गरिएका छन् ।

भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा ४२ वर्षीय स्थानीय एक पुरुषलाई पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि बुधबार बिहान नेपाली सेना र प्रहरीको टोलीले बस्ती सिल गरेको छ । कालिमाटी वृत्त परिसर प्रमुख श्याम ज्ञवालीले प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षा तथा सतर्कताका लागि कार्यालय आसपासको क्षेत्रमा आवतजावत समेत रोक लगाइएको बताउनुभयो । मैतिदेवीमा पनि केही दिनका लागि आवतजावतमा रोक लगाइएको छ ।

प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाइएको छ । त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कार्यालयभित्र सामाजिक दूरी कायम राखी स्वास्थ्य सतर्कता अपनाई उच्च मनोबलका साथ आरामले बस्न आग्रह गरिएको छ ।

सङ्क्रमित सईले लक्षण नै नदेखिई आफूलाई कोरोना पुष्टि भएको बताउनुभयो । कालिमाटी तरकारी बजारको भिडभाडबाट कोरोना सरेको अनुमान गरिएको उहाँले बताउनुभयो । नियमित कोठा गइरहने भएकाले बानेश्वरस्थित आफ्नो परिवारसमेत जोखिम रहेको उहाँले बताउनुभएको छ ।

केही दिन कालिमाटी तथा बल्खुलगायतका तरकारी बजारमा सर्वसाधारणको बाक्लो भिड लाग्नुका साथै भारतबाट समेत तरकारी र फुलफूलका गाडी भित्रिन थालेपछि प्रहरीलाई सुरक्षा व्यवस्था र सामाजिक दूरी कायम गराउन धौधौ परेको थियो ।

बन्दाबन्दीको बिचमा पनि तराईका विभिन्न जिल्लाबाट उपत्यकामा प्रवेश गर्नेहरूको सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको दावी स्थानीय जनप्रतिनिधिहरूको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार, काठमाडौंँमा १२, भक्तपुरमा पाँच र ललितपुरमा दुईजना कोरोना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा फेला परेकामध्ये चारजना उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन् ।