जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार १९:३०

महिलामन्त्री गुरुङको सह्रानीय काम : मृत्युको मुखमा पुगेकी सुत्केरीलाई काठमाडौं ल्याई अस्पताल भर्ना


काठमाडौं, जेठ ९ । संखुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । एक साताअघि सुत्केरी भई अचेत अवस्थामा रहनुभएका ३२ बर्षीया गंगा कार्कीलाई आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको बिशेष पहलकदमीमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

गर्भवती कार्की घरमै विरामी भएपछि एक हप्ता अघि खाँदबारी अस्पताल ल्याईएको थियो । अस्पतालमा ल्याउँदा कार्की अचेत अवस्थामा रहेकोले आईसियुमा राखेर उपचार गराउनुपर्ने भएपछि जिल्ला अस्पताल खाँदबारीले बिराटनगर पठाएको थियो । विराटनगरको नोबेल अस्पतालमा मृत्यु भईसकेको बच्चा निकालिएपछि कार्कीलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । नोवेल अस्पतालले उपचार खर्च नभएपछि बिरामीलाइृ घर फर्काएको थियो । बिना उपचार अस्पतालबाट फर्काइएपछि गम्भीर बिरामी पर्नुभएको कार्कीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

खाँदबारी अस्पताल आउँदा कार्कीको उच्च रक्तचाप, पिसावमा संक्रमण लगायतका समस्या भएकोले बाहिर रेफर गर्नु परेको खाँदबारी अस्पतालका ब्यवस्थापक दिपेश श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नु पथ्र्यो तर खाँदबारी अस्पतालमा त्यस्तो ब्यवस्था छैन,’, श्रेष्ठले भन्नुभयो । खर्च अभावको कारण बिराटनगरको अस्पतालबाट फेरि जिल्ला अस्पताल फर्काएपछि हेलिकप्टरबाट उद्धार गरिएको श्रेष्ठको भनाइ छ ।

कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । यस कार्यक्रममा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क हवाई सेवा प्रदान गरिन्छ । कार्कीको अवस्था गम्भीर रहको जानकारी पाएपछि उद्धारका लागि मन्त्री गुरुङ आफै सक्रिय बन्नुभएको थियो । ‘अति जटिल अवस्थामा रहेर जिउन सङ्घर्श गरीरहेकी संखुवासभाकि सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरी काठमान्डुको परोपकार प्रशुती गृहमा उपचार हुँदैछ । उद्धार कार्यमा लाग्ने सबैलाई धन्यबाद !,’ उद्धारलगत्तै मन्त्री गुरुङले भन्नुभयो ।

यसअघि उहाँले अन्तिम अवस्थामा जानकारी भएको भन्दै उद्धारका लागि प्रयाश भइरहेको जानकारी गराउनु भएको थियो । ‘अन्तिम समयमा थाहा पाएपछि संखुवासभाबाट ज्यान जोखिममा परेकी सुत्केरीको हवाई उद्धारमा लागेका छौं । उहाँको जीवन रक्षाका लागि सबैले सक्दो प्रयास र प्रार्थना गरौं,’ मन्त्री गुरुङले भन्नुभएको थियो ।

संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले मन्त्री गुरुङ लाई घटनाबारे जानकारी गराउनु भएपछि मन्त्री आफैले नेपाली सेनासँग समन्वय गरी हेलिकोप्टर पठाएर उद्धार गराउनु भएको हो । अस्पतालमा भर्ना नहुँदासम्म मन्त्री गुरुङले ती सुत्केरी महिलाको स्वास्थ्यबारे चासो राख्दै फलो गर्नुभएको थियो ।