जनता टाइम्स

१० जेष्ठ २०७७, शनिबार १५:२५

सजगताले कोरोना संक्रमणबाट यसरी जोगियो समुदाय


चन्द्रकला भण्डारी, भद्रपुर । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिए पनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिनबाट जोगिएको छ ।

सात दिनयता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट एक हजार २ सय जना नेपाल प्रवेश गरेकोमा झापाका २ सयलाई आफ्नै पालिकाको क्वारेन्टाइनमा लगिएको छ । एक हजार विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टाइनमा बसेका छन् । भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पिसीआर परीक्षण गरिँदा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ । ती दक्षिणी गाउँपालिका कचनकबलका हुन । झापाका कूल सङ्क्रमित ३५ जना हुन् । दुई जना निको भएर घर फर्किसकेका छन् । यो सङ्क्रमित सङ्ख्या प्रदेश नं १ कै धेरै हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टानमा पुर्याउँदा अत्यन्त सजगता अपनाइएको बताउनुभयो । “सीमामा आइपुगेकालाई तत्काल उद्धार गर्यौँ, व्यवस्थित क्वारेन्टिनमा राख्यौँ, त्यहीकारण उहाँहरुको सम्पर्कबाट समुदाय जोगियो,” प्रहरी उपरीक्षक कोइरालाले भन्नुभयो । झापामा भारतबाट आएका सङ्क्रमितबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको कोइरालाले जानकारी दिनुभयो ।

रेल यातायात सञ्चालन भएपछि केही समययता भारतको विभिन्न शहरका नेपाली स्वदेश फर्कने क्रम तीव्र छ । झापाको सीमा क्षेत्रसम्म आएपछि नेपाली पक्षबाट सुरक्षित किसिमले उद्धार हुँदै आएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउनुहुन्छ । काँकडभिट्टा नाकाबाट मात्र एक हजार नेपाली भित्रिइसकेका छन् । मध्यरातमा सीमाबाट भित्रिएका नेपालीलाई समुदायमा मिसिन नदिइ उद्धार गर्दै होल्डिङ सेन्टर र क्वारेन्टाइनमा जनप्रतिनिधि र प्रहरीले पुर्याउने गरेको मेचीनगर–६ काँकडभिट्टाका वडाध्यक्ष ललित तामाङले बताउनुभयो । सीमाबाट भित्रिरहेका नेपालीलाई समुदायमा मिसिन नदिन सीमाको पहिलो पङ्क्तिेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र रेडक्रसकर्मीले सघाउने गरेका छन् ।

बिहीबार मध्यरातमा काँकडभिट्टा नाकाबाट ३ सय नेपाली भित्रिएका थिए । उनीहरुलाई मध्यरातमै सीमा क्षेत्रबाट उद्धार गरी यातायातको साधन प्रयोग गरी काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इँटाभट्टास्थित आदर्श माविमा रहेको क्वारेन्टाइनमा पुर्याइएको मेचीनगरकी उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो । उनीहरुमध्ये १४५ जनाको शुक्रबार आरडिटी गर्दा १५ मा एन्टीबडी पोजेटिभ भेटिएको छ । आफूखुशी घर नपुगुन भनेर मध्यरातमै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल आफ्नो पालिकाका बासिन्दालाई उद्धार गरी लैजान मेची पुलसम्म पुग्नुभएको थियो । उहाँले आफ्ना पालिकाका बासिन्दालाई सुरक्षितरूपमा क्वारेन्टाइनमा राख्नुभएको छ । यसकारण पनि समुदायमा भारतबाट आएकाहरुले घुलमिल हुन पाएका छैनन् ।

भारतबाट आएर झापाको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा बसिरहेका ६६ जिल्लाका बासिन्दा छन् । उनीहरु अधिकांश भारतको कोभिड–१९ को सङ्क्रमण फैलिएको दिल्ली र मुम्बइबाट आएका हुन् । कोभिड–१९ को जाँच नगरी उनीहरुलाई आफ्नो जिल्लामा नपुर्याइने जिल्लास्थित कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले जानकारी दिनुभयो । रासस