जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार ११:०८

भिआइपी राखेको जेलमा हानाहान, यस्तो छ कारण


काठमाडौं, जेठ ११ । मुलुककै चर्चित ब्यक्ति अर्थात भिआइपी कैदी राखिदै आएको डिल्लीबजार कारागारभित्र झडप भएको छ । चौकीदार हटाउनु पर्ने माग सुनुवाई नहुँदा डिल्लीबजार कारागारमा आज हानाहान भएको हो ।

झडपमा घाइते भएका एक कैदीलाई अस्पताल लगिएको छ । झडपमा शमशेर तामाङ घाइते भएका हुन । उनको टाउकोमा चोट लागेको छ । तामाङलाई वीर हस्पिटल लगिएको छ । यस्तै झडपको केन्द्रबिन्दूमा रहेका चौकिदार गोकुल गिरीलाई जेलर अरुण पोख्रेलको कार्यालयमा लगेर राखिएको छ ।

डा. उपेन्द्र देवकोटाकी छोरीको अपहरण र फिरौती असुलीसम्बन्धी अभियोगअन्तर्गत आठ बर्षदेखि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका गिरीलाई चौकिदारीबाट हटाउन अर्काे पक्षले दवाव दिएको थियो । तर माग सुनुवाई नभएपछि असन्तुष्ट कैदी बन्दीले आज बिहानैदेखि कुर्सीका खुट्टा र भाटा हानेका थिए । झडप बढ्दै गएपछि कैदीहरुले भित्रबाट ताला लगाइदिएका थिए ।

४ सय ७१ कैदी रहेको उक्त कारागारको “क” ब्लकमा सुडान काण्डमा दोषी ठहर भएका पूर्वआइजिपी रमेश चन्द ठकुरी र पत्नी हत्या अभियोगमा दोषी ठहर भएका सशस्त्रका तात्कालिन डिआइजी रञ्जन कोइरालासमेत थुनिनुभएको छ । अहिले डिल्लीबजार कारागारमा थप प्रहरी तैनाथ गरिएको छ । सो बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।