जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार १४:३०

नक्सासँगै संघीय संसदको लोगो यसरी हुदैछ परिवर्तन


काठमाडौं, जेठ ११

संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । अतिक्रमित नेपाली भूभाग समेटेर सरकारले पहिलो पटक नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि लोगोमा नयाँ नक्सा राखिने भएको हो ।

सिंहदरवारमा आइतबार बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गर्ने निर्णय गरेको छ । संघीय संसद्का दुबै सदनका सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक पनि एक दिन पर सारेको छ । १२ गते इस्लाम धर्माबलम्बीहरुको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ । नयाँनक्सा सार्वजजनिक भएसँगै अहिले प्रचलनमा रहेका सिक्का, मानपद्वी, सरकारी निकायका छाप लगायत कुराहरु परिवर्तन गर्नुपर्नेछ ।