जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार १४:५७

नयाँ नक्सा समेट्ने गरी हुन लागेको संविधान संशोधन सर्वसम्मत गराउन किन पहल गर्नुपर्यो !


काठमाडौँ, जेठ ११

संसदमा अहिले संविधान संशोधनको प्रस्ताव सरकारले दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रमको सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव दर्ता गराउने जानकारी दिनुभएको थियो ।

उहाले अन्य विषय उठेपनि त्यसमा छलफल गर्न सकिने तर तत्काल यो विषय गरी हाल्नुपर्ने भएकाले संविधान संशोधनको प्रस्ताव ल्याउने बताउनु भएको थियो । सोही अनुसार सरकारले संसदमा प्रस्ताव दर्ता गरिसकेको छ । प्रतिनिधिसभाको बैठक जेठ १४ गते बोलाइएको छ ।

बैठकअघि आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्नका लागि पहल गर्ने निर्णय गरेको छ । शुक्रबार संसदमा दर्ता गरिएको सो प्रस्ताव परिपक्क हुन सात दिन लाग्ने र त्यसलगत्तै प्रक्रियामा लैजाने गरी तयारी भएको विपक्षी दलका नेता नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले जानकारी दिनुभयो । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ लाई सर्वसम्मत रुपमा पारित गराउनका लागि दलहरुलाई आग्रह गर्ने समितिले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियता भन्दा ठूलो कुरा केही नरहेको र राष्ट्रियताको जगेर्ना गर्नु संसदको दायित्व भएकाले संविधान संशोधन सम्बन्धी प्रस्ताव विवादरहित रुपमा पारित गराउनका लागि पहल गर्ने बताउनु भयो । तर, पार्टी एकताको घोषणा गरी गठन गरिएको जनता समाजवादी पार्टीले भने आफ्ना माग पनि संशोधन हुनेभएमात्र सहमति जनाउन कांग्रेससँग आग्रह गरेको छ ।

जनता समाजवादीले संशोधनमा सहयोग गर्ने कि नगर्ने भनेर अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, संविधान संशोधन गर्दा आफ्नो माग पनि समेटिनुपर्ने माग गरेको छ । सो मागमा समर्थन जुटाउन शनिवार सो पार्टीका शिर्ष नेताले कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन् ।