जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार १०:१४

नजिकियो तामाकोसीको बिद्युत उत्पादन मिति, जटिल मानिएको भर्टिकल पाइप राख्ने काममा मिल्यो सफलता


दोलखा, जेठ १२ । रष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको महत्ववपूर्ण र जटिल मानिएको ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ । बाँधलगायत हेडवक्सको प्राविधिक परीक्षण गरिसकेको यस आयोजनामा जटिल मानिएको तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप राख्न सफल भएको हो ।

अस्ट्रियन कम्पनी एन्ड्रिजले शनिबार बिहान ४ः०० बजे अन्तिम डेढ मिटरको पेनस्टक पाइप भर्टिकल साफ्टमा झारेसँगै तल्लो भर्टिकल साफ्टको काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । प्रवक्ता न्यौपानेका अनुसार तल्लो भर्टिकल साफ्टमा ७३ वटा पाँच मिटरको पाइप र अन्तिममा डेढ मिटरको पेनस्टक पाइप जडान गरिएको छ । योसँगै तामाकोसी आयोजनाको उत्पादन मिति नजिकिएको छ । यसअघि नै भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा २४६ मिटर पेनस्टक पाइप जडान गरिसकेको छ ।

प्रवक्ता न्यौपानेका अनुसार तामाकोशीको बाँकी रहेको ६४ मिटर पाइप जडान असारको पहिलो हप्तामा सकिने गरी काम भइरहेको छ। सबैभन्दा कठिन मानिएका यी सुरुङमा पेनस्टक पाइप राख्ने कामले गति लिन नसक्दा तामाकोसी आयोजनाको उत्पादन मितिसमेत पटकपटक पछि धकेलिएको थियो । करिब पाँच महिनाको प्रयासपछि गत २०७६ साल असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न आयोजना सफल भएको थियो । तामाकोशीमा पाँच मिटर लम्बाइ र २७ टन तौलसम्मका पेनस्टक पाइपलाई ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गरिँदै आएको छ ।

आयोजनामा मुख्य कामदार तथा प्राविधिक चिनियाँ, इटालियन, भारतीय र नेपाली नागरिक रहेको र उनीहरू कोरोनाको समस्या हुनुअघि देखि नै निरन्तर आयोजनाको काममा नै रहेकाले कोरोना भाइरसको सङ्क्रमणले समस्या नभएको प्रवक्ता डा. न्यौपानेले जानकारी दिनुभयो । हाल आयोजनमा चार सयभन्दा बढी कामदार तथा कर्मचारीले काम गरिरहेका छन् । चाइनिज कम्पनी सिनो हाइड्रोले सिभिल, अस्ट्रियन कम्पनी एन्ड्रिजले इलेक्ट्रोमेकानिकल, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले हाइड्रोमेकानिकल र अर्को भारतीय कम्पनी केईसीले सबस्टेसन तथा प्रसारण लाइनको काम गर्दै आएका छन् ।