जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार ०९:२५

गोली लागि घाइते विप्लव कार्यकर्ताको उपचारका क्रममा मृत्यु


धरान ।

भोजपुरमा प्रहरीसग गोली हानाहान हुदा घाइते भएका विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले गोली चलाउदा षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए ।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताउनु भयो । गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो । मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सुराकीको आधारमा खोजी गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी फायरमा उनी घाइते भएको प्रहरीले जनाएको छ। भिडन्तमा प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामत गरेको थियो।