जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार १२:३२

संसदमा सरकारले संविधान संशोधन प्रस्ताव पेश गर्दै, कांग्रेस लगायत दलले निर्णय नगर्दा पारितमा अन्यौलता


काठमाडौं, जेठ १४

सरकारले संघीय संसदको आजको बैठकमा निशान छापमा नक्सा परिवर्तन गर्नेगरी संविधान संशोधन प्रस्ताव पेश गर्दैछ । प्रतिनिधिसभाको आज दिउँसो २ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

दोस्रो पटक हुन लागेको संविधान संशोधनको प्रस्तावलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएपनि निर्णय हुन सकेको छैन । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

कांग्रेसले संशोधन गर्न समय माग गरेको छ भने मधेशवादी दलले पक्षमा मतदान गर्ने वा नगर्ने निर्णय गरेका छैनन् । कांग्रेसले संविधान संशोधन गर्नुपर्ने बताएपनि केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने बताएको छ । तर, बैठक कहिले बस्छ भनेर अझै भन्न सकेको छैन । विगतमा भूमि मिचिएको विषयमा चर्को आवाज उठाएको कांग्रेसले अहिले भने समय माग गर्नु आश्चर्य रहेको कतिपय विश्लेषकहरुले बताएका छन् ।

मधेशवादी दलमध्ये राजपाले भने विपक्षमा मतदान गर्न सक्ने सो पार्टीका एक नेताले जानकारी दिएका छन् । यद्यपी अन्तिम निर्णय भई नसकेको उनको भनाई छ । आफ्ना मागहरु पुरा भएमात्र पक्षमा मतदान गर्ने बताएको छ । समाजवादी पार्टीमा भने के गर्ने भन्ने अन्यौलता छाएको छ ।

सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सहितको निसान छाप परिवर्तन गर्न गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार कानून मन्त्री तम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराउनु भएको थियो । २०७२ मा बनेको संविधान दोस्रो पटक संशोधन हुन लागेको हो । यसअघि पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत भूभाग अतिक्रमण गरी भारतले आफ्नो भएको दाबी गर्दै सडक समेत निर्माण गरिसकेको छ । नेपाल भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा पारेर गत कात्तिकमा नक्सा सार्वजनिक गरेको भारतले लिम्पियाधुरा हुँदै बनाएको सडक बैशाख अन्तिम साता उद्घाटन गरेपछि सीमा विवाद चर्किएको थियो ।

नक्सा जारी गरेपछि नेपालले वार्ताका लागि गरेको प्रस्तावलाई भारतले बेवास्ता गर्दै आएको थियो । यही पृष्ठभूमिमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेर संविधान संशोधन गर्न लागेको हो ।