जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार १६:२६

चौरजहारी हत्याकाण्ड : थप एक युवकको शव भेटियो


जाजरकोट, जेठ १४ । भेरी नदीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ। भेरी नगरपालिका निवासी लोकेन्द्र सुनारको शव कुदु भन्ने स्थानमा नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला आज पारेको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो। घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो। आज सुनारको शव फेला परेको हो ।

गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी आफ्नी प्रेमिका लिन मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो। त्यहाँ जानेमध्ये केही युवा सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका समेत रहेको प्रहरीको भनाई छ । प्रहरीले बेपत्ता युवाहरूको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशबाट ३० जना थप जनशक्ति आएको जानकारी दिएको छ । यस्तै घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एक जना प्रहरी निरीक्षकको कमाण्डमा थप दुई जनाको टोली पनि यसअघि नै घटनास्थल पुगिसकेको छ । (तस्विर सौजन्य : भेरीमालिका दैनिक)