जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार १६:२१

वरिष्ठ गीतकार थापाको निधनले प्रधानमन्त्री दु:खी


काठमाडौं, जेठ १५

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीट गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधनले आफूलाई दुःख लागेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

वरिष्ठ गीतकार थापाको ८२ वर्षको उमेरमा निधन भएको हो । ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ‘यसपालि त मनै फाट्यो, केले सिउने’, ‘ठट्टैमा यो बँसै जान लाग्यो…’, घुम्तीमा नआउ है…, ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौँ गाउँछौंँ वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा’, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ…’ आदि सयौँ लोकप्रिय गीतका रचनाकार हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत–सङ्गीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । उहाँका श्रीमती र दुई छोरा छन् । नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्याम तकोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उहाँप्रति श्रञ्द्धाजलि व्यक्त गर्नुभयो ।

गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक नेपाली गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिनुभयो । विसं २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर मिलेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन (चक्का) मा रेकर्डिङ गराएको स्मरण गर्नुभयो । त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए । रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवशङ्कर, प्रेमध्वज प्रधान आदि लोकप्रिय सङ्गीतकार गायकले सहकार्य गर्नुभएको थियो । उहाँ काठमाडौँको कमलपोखरीमा बस्दै आउनुभएको छ । कोरोना भाइरसको परीक्षण गरेपछि अन्त्येष्टि गरिने जनाइएको छ ।