जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार ०८:२६

सच्चिएन मोदी सरकार, बार्ता गर्न पनि राख्यो यस्तो शर्त


काठमाडौं, जेठ १६ । भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न पनि शर्त राखेको छ । भारतले ‘भरोसापूर्ण वातावरण’ भएमात्र नेपालसँग वार्ता गर्न सकिने भन्दै शर्त राखेको हो ।

भारतको यो भनाईले नेपाल सरकारले सीमा वार्ता गर्न भारत तयार नभएको भनाईलाई पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयबाट पछिल्लो धारणा सार्वजनिक गर्दै बार्ता गर्न शर्त अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारत सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको बताउँदै तर त्यसका लागि भरोसापूर्ण वातावरण चाहिने बताउनु भयो । ‘वार्ताका लागि संवेदनशीलता, सम्मान, विश्वास र भरोसापूर्ण वातावरण चाहिन्छ,’ प्रवक्ता श्रीवास्तवको भनाई थियो ।

भारतले गत वैशाख अन्तिम साता नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने बाटो निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपाली भूमि मिचेर सडक बनाइएपछि नेपालमा सरकार र जनस्तरमा भारतको तीव्र विरोध भएको छ । भारतको हेपाह प्रबृत्तिको प्रतिवाद गर्दै नेपालले वर्षौंदेखि भारतको कब्जामा रहेका र नेपालको नक्सामा छुटेका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ । सन् १८१६ को सुगौली सन्धिको आधारमा नेपालको भूभाग महाकाली नदीको मुहान लिम्पियाधुरासम्म रहेको भन्दै नेपालले नयाँ नक्सा जारी गरेको हो । सो नयाँ नक्सा नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइएको छ ।

वार्ताका लागि रचनात्मक र सकारात्मक प्रयास हुनुपर्छ । यो कुरालाई नेपालले विशेष सावधानीपूर्वक हेर्छ भन्ने हामीलाई विश्वास छ

भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालका पछिल्ला घटनाक्रमलाई आफूहरुले नजिकबाट नियालिरहेको भन्दै धम्कीको भाषासमेत प्रयोग गर्नुभएको छ । ‘वार्ताका लागि रचनात्मक र सकारात्मक प्रयास हुनुपर्छ । यो कुरालाई नेपालले विशेष सावधानीपूर्वक हेर्छ भन्ने हामीलाई विश्वास छ,’ प्रवक्ता श्रीवास्तवले भन्नुभयो, ‘नेपालसँगको ऐतिहासिक र सांस्कृतिक रूपमा घनिष्ठ सम्बन्धलाई भारतले सधैँ महत्व दिँदै आएको छ, भारतको सहयोगमा सुरु गरिएका विकास योजनाले पनि त्यसलाई पुष्टि गर्छ ।’