जाजरकोट, जेठ १६ । रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा ज्यान गुमाएका सबैको टाउको गम्भीर चोट देखिएको छ । भेरी नदीमा बिहीबारसम्म फेला परेका पाँच जना मृतकको टाउकोमा गम्भीर चोट लागेको पाइएको हो ।
रुकुमपश्चिमको सोतीस्थित मल्ल थरकी युवतीसँगको प्रेमलाई बिवाहमा परिणत गर्न जाजरकोटबाट गएका युवाहरुमाथि निर्ममतापर्वक आक्रमण गरी हत्या गरिएको थियो । सो घटनामा हराईरहेका बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चोट रहेको बताएका छन । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसार टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए । खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको जानकारी दिनुभएको छ । उनको शव फेलापरेसँगै सोती घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो ।
बुधबार फेला परेको लोकेन्द्रको शव पनि टाउकोमा चोट लागेको, हात बाँधिएको र अण्डकोष सुनिएको अवस्थामा भेटिएको स्थानीयबासीको भनाई छ । यसअघि नै शव फेला परेका नवराज, गणेश र टीकारामको पनि टाउकोमा ढुंगा प्रहार गरेको चोट देखिएको थियो । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन नवराज साथीसहित जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । पीडित पक्षले चौरजहारीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० विरुद्ध किटानी जाहेरी दिएका छन । प्रहरीले किटानी जाहेरीको आधारमा अधिकांशलाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्