जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार १५:०६

काठमाडौंका यी तीन ठाउमा फ्लाई ओभर बन्ने


काठमाडौं, जेठ १६

सरकारले आगामी आर्थिक वर्षमा राजधानीमा तीन स्थानमा फ्लाई ओभर निर्माण गर्ने भएको छ । राजधानीको अस्तव्यस्त ट्राफिक व्यवस्थालाई सहज बनाउन फ्लाई ओभर निर्माण गर्न बजेट छुट्याएको हो ।

आर्थिक वर्ष २०७७\७८ को बजेटमा कोटेश्वर–कंलकी खण्डको तीन स्थानमा नेपालमै पहिलो पटक फ्लाई ओभर निर्माण गर्न र काठमाडौं उपत्यका लगायत अन्य ठूला शहरमा शहरी सडक विस्तार गर्न बजेट व्यवस्था गरिएको छ । यसैगरी काठमाडौं चक्रपथ सडक विस्तार दोस्रो चरणको काम शुरु गर्न पनि बजेट विनियोजन भएको छ ।

राजधानीको अहिले सबैभन्दा बढि जाम हुने भनेर पहिचान भएको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा पनि विकल्प खोजिएको छ । त्यहा फ्लाई ओभर वा सुरुङ निर्माण गरिने भएको छ । सो सडक खण्डमा संभाव्यता अध्ययन पुरा गरी फ्लाई ओभर तथा सुरुङ मार्ग निर्माण प्रारम्भ गर्न बजेट छुट्याइएको छ ।

यसैगरी नयाँ बानेश्वर र त्रिपुरेश्वरदेखी माइतीघरसम्मको सवारी सहज बनाउन पनि उपयुक्त विकल्प खोजिने भएको छ । त्यहा फ्लाई ओभर बनाउने वा के गर्ने भन्नेबारेमा उपयुक्त विल्कप पहिचान गरी आगामी आर्थिक वर्षमा निर्माण कार्य शुरु गर्ने गरी बजेट छुट्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभये ।