जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार २१:०१

मुख्यमन्त्री शंकर पोखरेलको निश्कर्ष : प्रदेश सरकारको नीतिअनुसार नै केन्द्रको बजेट आएको छ


बुटवल जेठ १६ । मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी सरकारले काम अघि बढाएको बताउनुभएको छ । मख्यमन्त्री पोखरेलले प्रदेश सरकारको आगामी वर्षको बजेट यही विषयमा केन्द्रित हुने गरी आउने जानकारी पनि दिनुभयो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिदै मुख्यमन्त्री पोखरेलले प्रदेशको नीतिअनुसार केन्द्रको बजेट आएको बताउनुभयो । हाम्रो नीतिअनुसार केन्द्रको बजेट आएको छ, तसर्थ हामी ठीक ठाउँमा छौं, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । कोभिड—१९ को नियन्त्रण र उपचारका लागि अहिले सरकारको ध्यान केन्द्रीत भएको पनि उहाँले बताउनुभयो । सरकारले पर्याप्त काम र तयारी गर्दागर्दै भारतीय सुरक्षा निकायको कमजोर व्यवस्थापनले ठूलो संख्यामा सीमापारीबाट नागरिक आएकाले व्यवस्थापनमा अप्ठ्यारो परेको जानकारी पनि मुख्यमन्त्री पोखरेलले दिनुभयो । “यो परिस्थितिजन्य जटिलता हो, केही दिन समस्या भएपनि अहिले व्यवस्थापन मिलाइएको छ, उहाँले भन्नुभयो ।

उहाँले कोभिड—१९ ले प्रदेश सरकारको औचित्य स्थापित गरेको निश्कर्ष पनि मुख्यमन्त्री पोखरेलले सुनाउनु भयो । “अहिले हामी जे गरिरहेका छौं, त्यो पर्याप्त नहुन सक्छ, तर जति भएको छ, सक्रिय भूमिकाले भएको छ, अझै धेरै काम हुनुपर्छ भन्ने अपेक्षा राख्नु स्वाभाविकै हो, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । महामारी नियन्त्रण गर्न शक्तिशाली राष्ट्रले समेत घुडा टेकिरहेको अवस्थामा महामारी नियन्त्रण गर्न सक्रिय भएर लागेको उहाँले बताउनुभयो । “हाम्रो सामथ्र्य अझै बढाउनुपर्छ, कमजोर स्वास्थ्य पूर्वाधार सुधार गर्न पहिलेदेखि नै ध्यान दिनुपर्दथ्यो, हामी स्वास्थ्य पूर्वाधार बढाउन ध्यान दिइरहेका छौं, उहाँले भन्नुभयो ।

उहाँले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने गरी काम भइहरेको र जिल्ला अस्पतालको सेवा प्रदेश सरकार स्थापना पछि सुधार भएको जानकारी दिनुभयो । उहाँले जिल्ला अस्पताललाई कम्तिमा ५० शैयाको हुने गरी विस्तार गर्न लागेको जानकारी दिनुभयो । छोटो समयमै दाङ, बाँके, बुटवल र भैरहवामा कोरोना विशेष अस्पताल स्थापना गरेर कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको र जिल्ला जिल्लामा आइसोलेसन केन्द्र बन्दै गरेको बहाँले बताउनुभयो । प्रदेशमा अहिले तीन वटा प्रयोगशालामा सञ्चालन भएको र ती प्रयोगशालाको क्षमता विस्तार गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म संक्रमित अधिकांश भारतबाट आएका भएको र केही व्यवस्थापनमा खटेका भएको बताउँदै उहाँले अझै समुदायमा फैलिइनसकेको स्पष्ट पार्नुभयो । कोभिड—१९ को नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय पालिकाले मात्रै गर्ने नभई सबै मिलेर लाग्नुपर्ने उहाँको भनाई छ । उहाँले संक्रमणको पहिलो चक्रलाई रोक्न सक्दा अहिले बनाइएको प्रणालीले यसलाई व्यवस्थित गर्न सकिने बताउनुभयो । “अहिले नै बढ्दो क्रममा रहेकोले कोभिड र जीवनलाई सगैं लैजान सकिदैन । स्थिर बनाएपछि कोभिड र जीवन सगैं लैजान सकिन्छ, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । किसानको उत्पादनलाई बजार पुर्याउन कृषि एम्बुलेन्स चलाएर प्रदेश सरकारले अग्रसरता लिएको जानकारी पनि उहाँले गराउनु भयो । भविष्यमा खाद्य संकटको चुनौती सामना गर्ने गरी तयारी गर्नुपर्ने उहाँले बताउनुभयो । “उत्पादनको सुरक्षित भण्डारण र उत्पादनको विस्तार हुनुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तह मिलेर गर्नुपर्छ, उहाँले भन्नुभयो ।

भारतले प्राप्त गर्ने रेमिट्यान्समा नेपाल छैठौं स्थानमा रहेकोले अब हामीभित्रै संभावना खोजेर समस्याको समाधान गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । हामीभित्रै संभावना छ, हामी खोज्नुपर्छ । हाम्रो इट्टाभट्टामा भारतीय नागरिक कार्यरत छन् । अब विदेश जानुको साटो यही काम गर्ने र दिने बानी विकास गर्नुपर्छ । सिमेण्ट उद्योगमा काम गर्ने झण्डै ७० प्रतिशत भारतीय छन् । उद्योगीलाई चाहिने जनशक्तिलाई हामी तालिम दिन्छौं, तपाईहरु रोजगारी दिनुस भन्छौं, मुख्यमन्त्री पोखरेलले भन्नुयभो । रोजगारी दुई तरीकाले श्रृजना गर्ने जानकारी पनि उहाँले दिनुभयो । एउटा स्वरोजगार श्रृजना गर्ने हिसाबले अर्को यहाँका उद्योगहरुमा, उहाँको भनाई थियो ।

मुख्यमन्त्री पोखरेलको जवाफपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम आजै प्रदेशसभाबाट पारित भएको छ ।