जनता टाइम्स

१७ जेष्ठ २०७७, शनिबार १०:००

रुकुम घटना : पोस्टमार्टम रिपोर्टले उजागर गर्यो हत्यापछि भेरी नदीमा फालिएको तथ्य


जाजरकोट, जेठ १७ । रुकुम घटनामा शव भेटिएका ५ जनाको कुटपिटपछि मृत्यु भएको देखिएको छ । जाजरकोट अस्पतालमा गरिएकको पोस्टमार्टमबाट यस्तो तथ्य बाहिर आएको हो । पोस्टमार्टम रिपोर्टमा कुटपिटबाटै हत्या भएको चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको छ । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ, नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन,’ ती चिकित्सकको भनाई छ । पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर भएको होइन । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।

पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको बताएका छन् । ‘घटनामा वडाध्यक्ष डम्बर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सब भएको छ,’ मृतक नवराजका पिता मुनलालले भन्नुभयो, ‘तर, अहिले नेताहरुले अपराधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कुटेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरुले आफैं भेरीमा हामफाले भन्दै अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास भएको मुनलालको भनाई छ ।

यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवामाथि आक्रमण गरेका थिए । सोतीकै १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुको समूहलाई गाउँलेले लखेटेर हत्या गरेको पीडित पक्षको भनाइ छ। पोष्टमार्टम रिपोर्टपछि गाउँलेले कुटपिटबाट हत्या गरी भेरी नदीमा फालेको आशंकालाई बलियो आधार दिएको छ ।