जनता टाइम्स

१७ जेष्ठ २०७७, शनिबार ११:३२

खाडीमा एक सातामा ९ नेपालीको कोरोनाबाट मृत्यु


काठमाडौं, जेठ १७

खाडीमा यो सातामात्रै कोरोनाका कारण ९ नेपालीले ज्यान गुमाएका छन् । कतार, साउदी अरब र यूएईमा ९ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

साउदीमा २ जना, कतारमा ३ र यूएईमा चार जनाको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । योसँगै साउदीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुगेको छ भने कतारमा चार र यूएईमा पनि ९ जना पुगेको बोर्डको तथ्याँकले देखाएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले भने गएको हप्ता नै यूएईमा १८ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको जनाएको थियो । यो तथ्याँकलाई त्यहाँ रहेको नेपाली दूतावासले पुष्टि भने गरेको छैन ।

यस्तै अर्का एक जना नेपालीको सेसल्समा पनि कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । बोर्डको तथ्याँक अनुसार योसँगै रोजगारीमा रहेका २३ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।