जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १३:२६

अन्तत : नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति भंग, पूर्वअध्यक्ष मास्केलाई अध्यक्षको जिम्मेवारी


काठमाडौं, जेठ ८

सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति भंग गरेको छ । आर्थिक अनियमिततामा मुछिएको तथा समयमा अधिवेशन गराउन नसकेको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले सञ्जीव थापाको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमितिलाई भंग गर तदर्थ समिति गठन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार नै रेडक्रसलाई पत्र पठाई नयाँ तदर्थ समिति गठन गरेको जानकारी दिएको छ । गत बैशाख २४ गते धरानमा केन्द्रीय साधारणसभा तथा निर्वाचन गराउने तयारी गरेको रेडक्रसलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले नै रोक लगाएको थियो ।

केन्द्रीय कार्यसमितिमाथि नै प्रश्न उठेको बेला स्वच्छ र निश्पक्ष निर्वाचन गराउन नसक्ने भन्दै साधारणसभामा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोही प्रयोजनका लागि तदर्थ समिति बनाएर थापा नेतृत्वको कार्यसमिति भंग गरेको हो ।

थापा नेतृत्वको कार्यसमितिले जेठ १ देखि वैधानिकता गुमाएको थियो । सो कार्यसमितिलाई बर्खास्त गर्दै सरकारले १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । नयाँ कार्यससमितिको अध्यक्षमा डा विश्वकेशर मास्के चयन हुनुभएको छ । मास्के रेडक्रसकै पूर्वअध्यक्ष र महामन्त्री समेत हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा कृष्ण गौतम (बर्दिया), महामन्त्री कमलप्रसाद निरौला (झापा), कोषाध्यक्ष सीताराम कोइराला (धादिङ) चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा दीपेन्द्र ढकाल, वीरबहादुर बस्नेत, लोकराज ढकाल, अशोक श्रेष्ठ, श्याम पोखरेल, दीपक मिश्र, गोवर्धन सम्झना, महेश्वरी राई रहनुभएको छ । यसैगरी सदस्यहरुमा खेमराज केसी, श्रीकृष्ण दाहाल, अरुण खनाल, तिर्थराज घिमिरे र जीवन राना रहेका छन ।

जिल्ला प्रशासनको यो निर्णयसँगै लामो समयदेखि नेपाल रेडक्रसमा कब्जा जमाउँदै आउनु भएका अध्यक्ष सञ्जीव थापासहितको टीमको बर्चश्व सकिएको छ । तीन कार्यकालदेखि अध्यक्षमा रहनुभएका थापा पुनः अध्यक्षको चुनावी मैदानमा हुनुहुन्थ्यो ।