जनता टाइम्स

१७ जेष्ठ २०७७, शनिबार २२:१५

२० जेठपछि लकडाउनको मोडालिटी फेरिने (भिडियोसहित)


काठमाडौं, जेठ १७

सरकारले थप गरेको १२ दिनको लकडाउनमा मोडालिटी परिवर्तन गर्ने भएको छ । जनस्तरबाट समेत मोडालिटी परिवर्तन हुनुपर्ने आवाज उठिरहेका बेला सरकारले जेठ २० गतेपछि मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोडालिटी तयार पारेर ल्याउन कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले २० गते पछाडीको लकडाउनलाई कसरी व्यस्थित गर्ने भन्नेबारेमा समितिलाई प्रस्ताव पेश गर्न निर्देशन दिइएको बताउनु भयो । ‘यो लकडाउनको अवधिमा यसलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भनेर उच्चस्तरीय समन्वय समितिले छलफल गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय भएको छ’, उहाले भन्नुभयो ।

मन्त्री खतिवडाले परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले सिफारिस गर्ने र सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिनुभयो । सरकारका प्रवक्ता डा खतिवडाका अनुसार सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गरिने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्नगराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय भएको छ ।

त्यसैगरी आज बसेको सुरक्षा परिषद्को बैठकमा अन्तरराष्ट्रिय सीमा विवाद तथा कोभिड–१९ सँग सम्बन्धित अन्तरराष्ट्रिय जोखिम र चुनौती सम्बोधन गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खासगरी अहिले सीमा क्षेत्रहरुमा सीमा वारपारका गतिविधि र मान्छेको आवागमनलाई कडाइका साथ पालना गराउन सशस्त्र प्रहरीको गस्ती बढाउने एवं जनशक्ति थप्ने र त्यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।”

https://www.facebook.com/jantatimes/videos/3793128327429270/