जनता टाइम्स

१७ जेष्ठ २०७७, शनिबार २२:२७

संविधान संशोधन प्रस्ताव आइतवार संसदमा प्रस्तुत हुदै


काठमाडौं, जेठ १७

सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गर्ने पहिलो नम्बरमा राखिएको छ ।

यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम सरकारले पछि हटाएको थियो । प्रतिपक्षी कांग्रेसको शनिबारको बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यले यसको समर्थन गरेपछि सरकारले प्रस्तुत गर्न लागेको हो ।

आइतबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुहुनेछ । सदनले अनुमति दिएपछि उहाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गर्ने सम्भावित कार्यसूचीमा लेखिएको छ ।