जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार ११:४२

सरकारले गर्यो ऐतिहासिक निर्णय : संसदमा पेस भयो संविधान संशोधन विधेयक


काठमाडौं, जेठ १८

सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गर्नुभएको हो ।

प्रतिपक्षी नेपाली कांग्रेसको शनिबारको बसेको केन्द्रीय कार्यसमिति बैठकले संशोधनको पक्षमा उभिने निर्णय गरेपछि सरकारले विधेयक प्रस्तुत गरेको छ । मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते शुक्रबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराउनु भएको थियो ।

उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । संविधान संशोधन भएसँगै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नेपालको नक्सा निसान छापमा राखिनेछ ।

भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो । ती क्षेत्र फिर्ता गर्नेबारे सरकारले कूटनीतिक पहल गर्ने बताउँदै आएको छ ।