जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार १३:१५

पहिला फेल भईसकेको संविधान संशोधन विधेयक पुनः दर्ता गराउने कांग्रेस केन्द्रीय समितिको निर्णय


काठमाडौं, जेठ १८

नेपाली कांग्रेसले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्ने भएको छ । सभापति देउवाले नेतृत्व गरेको अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेकै संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्ने भएको हो ।

पार्टी कार्यालय सानेपामा शनिवार राति अवेर सकिएको केन्द्रीय समितिको बैठकले सो विधेयक पुनः प्रस्तुत गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको चौथो नम्बर निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एंव तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन गर्ने निर्णय यो बैठक गर्दछ ।’

मधेशका जनताको मागअनुसार देउवा सरकारले संविधान संशोधन गर्न संसदमा प्रस्ताव लगे पनि तत्कालीन नेकपा एमालेलगायत दलले समर्थन नगरेपछि पास भएको थिएन । देउवा सरकारले लगेको संविधान संशोधनको प्रस्तावमाथि २०७४ भदौ ५ गते संसदमा मतदान भएको थियो ।

पक्षमा कांग्रेस, माओवादी केन्द्र, राजपालगायत दलले समर्थन गरे पनि नेकपा एमाले, राप्रपा, नेककिपा, राजमोलगायत दल विपक्षमा उभिएका थिए । यद्यपी सरकारले अहिले संसदमा प्रस्तुत गरेको विधेयकका पक्षमा भने मतदान गर्ने निर्णय गरेको छ । जस अनुसार सरकारले संसदमा विधेयक पेश गरिसकेको छ ।