जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतबार ००:००

संविधान संशोधन प्रस्तावको सूचना राजपत्रमा प्रकाशित


काठमाडौं, जेठ १८

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर तयार पारेको नक्सा समावेश गरेको निसान छाप परिवर्तन गर्न संविधन संशोधनको प्रक्रिया अगाडी बढाएको छ । संसदमा प्रस्ताव पेश गरेकै दिन संविधान संशोधन प्रस्तावको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको हो ।

नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संविधान संशोधन गर्न लागेको छ । संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने व्यवस्था अनुसार आइतबार नै राजपत्रमा प्रकाशन भएको हो ।

संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो । संविधान सशोधनका लागी दुई तिहाइ मत आबश्यक पर्छ । त्यसका लागि सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।