८ जेष्ठ २०७६, बुधबार ००:००

पोखरामा ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने


पोखरा, जेठ ८

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । नेपाली समाजमा विभिन्न चाडपर्व विशेष र मेलामा आयोजना हुने ठेलो प्रतियोगिता प्रथमपटक प्रदेशस्तरीय गर्न लागिएको हो ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोग र नेपाल ओलम्पिक कमिटीको प्रवर्द्धनमा हुने प्रतियोगिता आगामी असारको १० र ११ गते (जुन २५ र २६मा) पोखराको टुँडिखेल मैदानमा हुने मञ्चले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न मञ्चका महासचिव खेमबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ। त्यस्तै समितिको प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट, प्रचारप्रसार संयोजकमा केशव पाठक, मैदान व्यवस्थापन संयोजकमा दिलबहादुर गुरुङलगायत छन् ।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा समेत प्रवेश गराउन पहिलोपटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उपसमिति संयोजक गुरुङले जानकारी दिनुभयो । महिला र पुरुष गरी गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी दुई दिनसम्म पोखराको टुँडिखेल मैदानमा प्रतिष्पर्धामा भाग लिने जनाइएको छ ।