जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १६:१४

मालपोत अधिकृतको १० करोड अकुत सम्पत्ति, २ लाखमा किनेर जग्गाधनीलाई नै १ करोड ६८ लाखमा विक्रि


काठमाडौं, जेठ २०

भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालको १० करोड बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

२०५४ माघ १४ गते अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङ्गबाट रा.प.अनं.द्धितिय श्रेणी खरिदारको पदमा मिति २०५५ असोज १६ मा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए । ना.सु. र हाल शाखा अधिकृतको पदमा वढुवा भएका उनि निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लिबजार काठमाण्डौ, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेका छन् ।

यस्तो छ बदमासी

सार्वजनिक सेवामा प्रवेश पश्चात निज बद्रिराज ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको पाइएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ । आफू र आफ्नै परिवारका सदस्यहरुको बैंक खाताहरुमा खासै कारोवार नगरी नदेखाइ आफूले गैरकानूनी रुपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउने छिपाउने उद्देश्यले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिईएको पनि देखिएको छ । ढकालले आफू अनुकूलका व्यक्तिहरु एवं आफूसमेतले विभिन्न व्यक्तिहरुका नामबाट खातामा पैसा जम्मा गरी गराई सो खातामा मौज्दात रकमहरुबाट आफूले खरिद गरेका जग्गाका जग्गाधनी तथा जग्गा विक्रेता एवं जग्गा कारोवारसँग सम्वन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्ने कार्यमा उक्त खाताबाट आफू अनुकूल रु ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च गरेको देखिन आएको अख्तियारले जनाएको छ ।

यसैगरी निज बद्रिराज ढकालले आफू तनहुँ जिल्ला स्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सोही तनहुँ जिल्लाबासी डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी निज र निजको श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गाहरु कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोवार देखाइ आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्याधिक मूल्य खुलाई उक्त जग्गाहरु निज डेकबहादुर गुरुङ्ग र निजको श्रीमती र निज डेक बहादुर गुरुङ्गका सहोदर दिदी र भिनाजु र बहिनी समेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरी हुँदै नभएको खरिद बिक्री कारोवारमा रु १ लाख ९७ हजारको लगानीमा लगानीको केही दिन र महिनाको अन्तरालमै रु १ हजार ६८ लाख आर्जन गरेको देखाई बदनियत तवरले आयस्रोत बढाउने काम गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज बद्रिराज ढकालले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्मको जाँचअवधिमा ढकालले आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रु ४ करोड ५४ लाख १७ हजार २४४ रुपैयाँमा घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्निसिङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा रु १करोड १ लाख ५३ हजार ८१ रुपैयाँ पूँजिगत लाभ तथा आयकर रु ७ लाख ९० हजार १३० रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा रु १ करोड ११ लाख ४६ हजार ७०१ रुपैयाँ ,सन्ततीको अध्ययनमा रु१ लाख ६० हजार रुपैयाँ, जीवन बीमा प्रिमियम शुल्कमा रु ९ लाख २४ हजार ६४० रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा रु ६४ लाख ६३ हजार ५११ रुपैयाँ, सवारी साधन खरिद तथा संचालनसमेतमा रु २८ लाख २२ हजार ७०० रुपैयाँ, सुन खरिदमा रु १७ हजार ३०० सय, सरसापटी व्यवहारमा रु २० लाख रुपैयाँ रहेको उल्लेख छ ।

जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाता खोली सो खाता संचालन गर्ने लिई आफू एवं विभिन्न व्यक्तिहरुको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरुबाट रु ४ करोड२६ लाख ९९ हजार २९४ रुपैयाँ, विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरु बाहेक निजले खुलाईदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत रु २ करोड २४ लाख २६ हजार ६८९ रुपैयाँ, निजी विदेश भ्रमणमा रु ९२ हजार ३०० सय र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम रु. २ लाख ६८ हजार ९०८ रुपैयाँसमेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निजले रु. १४ करोड ५३ लाख ८२ हजार ४९८रुपैयाँ (चौध करोड त्रिपन्न लाख बयासी हजार चार सय अन्ठानब्बे रुपैया) खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जारी गरेको विज्ञप्तीमा देखिएको छ ।

सोही जाँचअवधिमा पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता लगायतका वचतआय रु. ४९,४४,१६० रुपैयाँ, निजको श्रीमती सिर्जना अर्याल ढकालको पारीश्रमिक वचत आय रु.७७¸३६७ रुपैयाँ, निज बद्रीराज ढकालको वैदेशिक वचत आय रु १ लाख, क.सं.कोष तथा बैंकबाट लिएका कर्जा रु ६८ लाख ९१ हजार ७५१, घरबिक्रीबाट रु १ करोड १५ लाख, जग्गा बिक्रीबाट रु. १ करोड ८ लाख ६७ हजार २००, शेयर बिक्रीबाट रु. ६ लाख ९९ हजार २३० रुपैयाँ, सवारी साधन बिक्रीबाट रु. १२ लाख ९६ हजार रुपैयाँ र कृषी आय रु १ लाख २७४ रुपैयाँ समेत गरी ढकालले जम्मा रु चार करोड छब्विस लाख चौवीस हजार सड्तीस रुपैया आय आर्जन गरेको देखिँदा आय भन्दा वढि खर्च देखिएको रु दश करोड सत्ताईस लाख अन्ठाउन्न हजार चार सय एकसठ्टी रुपैयाको आय भन्दा वढी खर्च गरेको रकमहरुको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको देखियो, अख्तियारको विज्ञप्तीमा उल्लेख छ । अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनार्थ बद्रीराज ढकाल लगायत निजको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।