जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार ११:५४

कोरोना संक्रमित भेटिएपछि केएमसीको सेवा केही दिनका लागि बन्द


काठमाडौं, जेठ २१

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सो अस्पतालको सेवा केही दिनका लागि बन्द गरिएको छ । एक चिकित्सक तथा एक जना नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालले तत्कालका लागि सेवा बन्द गरेको हो ।

साथै अस्पतालमा उपचारका लागि आएकी एक जना सुत्केरी महिला तथा ओपीडीमा जाँच गराउन आएका एक अर्का व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय लिएको हो । अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीका अनुसार ट्रेसिङमा फेला परेका अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको मंगलबार नै स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।

उहाका अनुसार शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिएको छ भने अस्पतालमा नै उपचाररत अन्य ६० जना बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ । उपचार छाडेर घर जान चाहने बिरामीको विस्तृत ठेगाना टिपेर मात्रै पठाइनेछ । रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मीलाई मात्रै काममा फर्काइने उहाले बताउनु भयो ।